अहिलेको गणतन्त्र ठिक कि उहिलेको राजतन्त्र ?
राष्ट्रिय राजनीतिक रंगमञ्चमा यतिखेर नवमण्डले हरूको अभिनय जोडदारका साथ गरिएको छ। भोलिका दिनमा “श्रीमान् गम्भीर नेपाली प्रचण्ड, प्रतापी, भूपति……….” भनेहरु अर्थात पूर्व भूपतिको प्रस्तुति नेपथ्यबाट गुञ्जिरहेको छ र दर्शक सिटी फुक्दै, ताली पिट्दै उत्साहित भइदिन्छन्। मानौँ मञ्चमा भगवान नारायण स्वंमय प्रकट भएका हुन्। तर दर्शक अभिशप्त छन् ताली बजाउन र सिटी फुक्न।
जस्तै, केहि नेपालीहरुले २००७ सालमा ताली बजाएका थिए। फेरि त्यही नेपालीहरुले २०१७ सालमा, त्यस्तै २०४६ साल र अन्तिम पटक ०६२/६३ सालमा बजाएको थिए। त्यस्तै, एक कर्यक्रम थिए, जानकी मन्दिरको सामुन्ने दर्शक कानेखुशी गर्दै अर्को दर्शकलाई भन्छन्, ‘ठीक ठीक, साला नयाँ राजाहरु भन्दा त पुरानो राजसंस्था नै ठीक।’ यही बेला एउटा पात्र जुम्लेली स्याउ टोक्दै डाइलग मार्छ ‘राजा आऊ, देश बचाऊ।’ दर्शक फर्रर ताली बजाउँछन्। मञ्चको पूर्वतिरबाट प्रवेश गर्दै अर्को पात्र उस्तै हुलियाको संवाद ठोके श्री ५ महाराजाधिराज ज्ञानेन्द्र सरकार कि जय तालीको गड्गडाहट झन् बढ्छ। मञ्चको मध्यभागमा उभिएर एउटा पात्र फलाक्छ ‘विचारभन्दा माथि देश, देशभन्दा माथि नरेश’ म अवाक हुन्छु।
संविधान दिवस जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। भनेर बरालिँदै थिए अरे, त्यो पुस १ गते थियो। २०१९ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले पञ्चायती संविधान लागु गरेका थिए। निर्दलीय संविधान लागु भएपछि, हरेक बर्ष पुस १४ गते त्यही नारा लगाउन लगाइयो। बिधालयहरुमा शिक्षकलाई सोधेको थिएँ ‘के हरेक पुस १४ गते हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर हामी बच्चाहरु जुलुसमा जान जरुरी छ। आम्मै, गएन भने त मारि हाल्छ, जागिर खाइदिन्छ। नि राजाले शिक्षकले भनेको थियो। फेरि पनि पुस १४ र कात्तिक २२ गते यो नारा लगाउन हजारौं बालबालिका बाध्य थियौं। २०४० को दशकतिर देशमा एउटा आन्दोलन चल्यो। सबैले त्यसलाई समर्थन गर्दै पसलहरु बन्द गरे। आन्दोलन र बन्दस्थितिले आमहडतालमा परिणत भयो। सबैको पसल बन्द थिए तर प्रहरी आउँदै लाठी बर्साएर जबर्जस्ती पसल खोल्न लगाए। त्यसपछि २०४२ सालतिरै सिन्धुपाल्चोक जिल्लामा पुष्कर हत्याकाण्ड भयो। सिन्धुपाल्चोक जिल्लामा एउटा साँस्कृतिक कार्यक्रम थिए, त्यही कार्यक्रममा राजाको निर्देशनमा अन्धाधुन्द गोली चलाउँदा इलबहादुर र वीरबहादुर थामीले सहादत प्राप्त गरे। त्यो राजाकालीन समय थियो।
त्यतिखेर राजाबारे त परै जाओस् व्यवस्था, स्थानीय प्रहरी, प्रशासक र सामन्तीहरु विरुद्ध पनि लेख्न त के बोल्न पनि मनाही थियो। जसले बोल्न खोज्थ्यो उहाँलाई सिधै कि जेलमा जाकिन्थ्यो, कि त सुलीमा चढ्थ्यो। त्यतिखेरै सुन्थें पञ्चायती व्यवस्था विरुद्ध बोल्दा १४ वर्षकै कलिलो उमेरमा जेल परेकाहरुको इतिहासमा छिन्ताङ घटना पनि राजाकालीन समयमै भएको हो। नमिता, सुमिता हत्याकण्ड राजाकालीन समयकै हो। मन्दिर मन्दिरबाट पुराना मूर्ति चोरी राजाकालीन समयमै भएको थियो। के त्यस्ता प्रकृतिका घटना अहिलेचाहिँ नभएको हो त ? हैन, अहिले पनि भएका छन्। तर ती घटना राजा र राजपरिवारबाट हुने गरेका थिए वा त्यसको आडमा प्रहरी, प्रशासक र सामन्तीहरूले गर्थे, त्यसबेला त्यसविरुद्ध चुँईसम्म पनि बोल्न पाइँदैन थियो। लेख्ने कुरा त दुनियाँलाई सचेत गराउने विषय त दिवास्वप्न जस्तै लाग्थ्यो।
२०४६ को जनआन्दोलनले राजालाई संवैधानिक बनायो। तर, राजपरिवार र राजाको रवाफ पञ्चायतमा भन्दा कम थिएन। तत्कालीन युवराज पारस शाहको उन्माद अचम्मकै थियो। त्यही समय पारसबाट संगीतकार प्रवीण गुरुङ पक्लक्कै ढले, बोल्न सक्ने को ? विरोध गर्न सक्ने कसको ल्याकत ? कविता लेखेथें त्यही विषयमा छापिदिन सक्ने कसको तागत ? चिर्कटोमै कविता हरायो। सेनाको जबर्जस्त पहराभित्र राजा वीरेन्द्रकै मात्र वंश स्वाहा हुने गरी दरबार हत्याकाण्ड कसरी र कसले गर्न सक्छ ? फेरि त्यसबारे लेख्ने औकात कसको ? २०६१ माघ १९ गतेपछि त तत्कालीन राजा ज्ञानेन्द्रले संविधानकै हत्या गरेर शासन आफ्नो हातमा लिएको थिए। तर, फेरि एकप्रकारको निरंकुशता हाबी भयो। समाचारको कखरा सिक्दै थिएँ। फ्याक्सको सुविधा जिल्ला प्रशासन कार्यालयमा मात्र थियो। त्यसपछि के भयो ? सम्पादक सिडिओ बन्यो।
राजधानीबाट प्रकाशन हुने पत्रिकाका लागि पठाइने सामग्री सिडिओबाट सेन्सर नभइञ्जेल फ्याक्स मेशिन चल्दैन थियो। एउटा कविता लेखेथें सोही समय दर्शन भेटबारे दलका नेताहरुले राजालाई गर्ने दर्शन भेटको सन्दर्भ थियो। त्यसमा कर्मचारी मिलन केन्द्रको स्मारिकामा छपाउने दिए। किन छापिन्थ्यो ? हामी यो कविता छाप्न सक्दैनौँ भनेर सिधै रिजेक्ट हानि दिए। हुनत विस्तारै प्रेस र अभिव्यक्ति स्वतन्त्रता सुधारि तै थियो। यतिसम्म कि गाईजात्राको दिन हामीले टाँस्ने गरेको व्यंग्यात्मक भित्तेपत्रिका च्यात्न प्रहरी आउने गथ्र्यो। अहिलेको पुस्ता त्यो भोगाइबाट वञ्चित छ र उनीहरु राजा आऊ देश बचाऊ भन्दै छन्। राजा आउँदा वा नआउँदा देश बच्छ कि बच्दैन– त्यो म जान्दिनँ तर राजा आउँदा भेष बच्ने छैन, भाषा बच्ने छैन, संस्कृति बच्ने छैन। अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता मानवअधिकार बच्ने छैन। त्यतिखेर राजाले जे गर्दा पनि बोल्न पाइँदैन थियो। अहिले राष्ट्रपतिलाई गाली वा बिरोध गर्न सक्ने हैसियत जनतासंग छ।
राष्ट्रपतिलाई मूर्दावाद भन्न सक्छौं। प्रधानमन्त्रीको गलत कार्य विरुद्ध बोल्न, लेख्न मात्र हैन उस्तै सचेतता अपनाउने हो भने फाल्ने बर्कत पनि हामीसँग छ। राष्ट्रपतिको भूमिकाको क्यारिकेचर गर्न मनोज गजुरेलहरूलाई पनि छुट छ। प्रधानमन्त्रीकै खिल्ली उडाउन धुर्मुसहरूलाई छुट छ। तर उ बेला राजाको वा प्रधानमन्त्रीको क्यारिकेचर गर्न मह जोडीलाई छुट थिएन। अझ सबैभन्दा ठूलो कुरा त यही व्यवस्थाभित्र रहेर यसैको संविधान विरुद्ध विमति र विरोध राख्न पनि छुट छ। केही नवमण्डले यही व्यवस्था र संविधानको सास फुक्दै सांसद बनेका छन्। हेक्का रहोस्– चाहे गणेशमान होउन् या मनमोहन या अरु कोही, तिनीहरू कसैले पञ्चायती व्यवस्थाभित्र रहेर सुख सुविधा पद धारण गरी राजतन्त्र ढालेका हैनन्। आफ्नो ज्यानलाई हत्केलामा राखेर व्यवस्थाविरुद्ध लागेका हुन्। भूमिगत बाँचेका हुन्। के अहिलेका नवमण्डलेहरूमा त्यो साहस छ ? निश्चय पनि अहिलेको गणतन्त्रमा गञ्जागोल छ। तर यसको अर्थ यो होइन कि योभन्दा उत्तम राजतन्त्र थियो। कसैको वर्तमान खराब भयो भन्दैमा पछाडीतिर फर्कन खोज्नु मूर्खता सिवाय केही होइन। ठीक छ, यो व्यवस्था प्रतिकूल भयो रे ? तर यसभन्दा उन्नत व्यवस्था पाउने यात्रामा निस्कने कि उही चिहानमा पुरिएको राजतन्त्र फर्काउने हिजो राणाको जुठोपुरो खाएर हुर्केकाहरूले पनि त १ सय ४ वर्षे राणा शासन ठीक थियो भन्लान्।
त्यस्तै, सडकमा शिक्षक आन्दाेलन हाम्रो माग पूरा गर भनिरहेको देख्छु। सेता कोटधारीहरु अलि पर जान्छु। राष्ट्रपतिबाट आममाफी पाएर अबिर जात्रासहित जेलबाट निस्कँदै गरेको देख्छु। दिक्क लागेर पत्रिका हेर्छु–१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार त्रिभुवन विमानस्थलतिर आँखा दौडाउँछु। एकहुल युवायुवती बिदेश उड्न तयार भएको देख्छु। एउटा अधवैंशे आएर भन्न थाल्छ के विधि महँगी हो। संसद भवनतिर देख्छु। तर सत्तापक्षका नेताले प्रतिपक्षको नेतालाई चोर भन्यो भन्दै बैठक अवरुद्ध पारेर सुर्कासुर्की गरेको देखिन्छ। आम जनता यी र यस्तै दृष्यबाट विरक्तिएको मनमनै भन्छ पक्कै पनि केही स्थिति अवश्य बिग्रिएका छन्। तर, गणतन्त्र र संघीयताको प्रकृति त पक्कै बिग्रेको छैन। बरु यसमा ठेक्कदारहरु पक्कै बिग्रिएकै हुन्।