काठमाडौं । रक ब्याण्ड एक्सिसले पाँच वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’ गरेको छ । कतारमा जारी विश्वकप फुटबलको माहोलबीच यो चर्चित घरेलु ब्याण्डले दर्शकलाई मनोरञ्जन गरायो ।
पीभीई नेटवर्कको प्रस्तुति तथा यति ब्लोण्डेको सहकार्यमा आयोजना गरिएको कन्सर्टमा एक्सिसको गीत सुन्न दर्शकको हाउसफुल उपस्थिति थियो । कन्सर्टको शुभारम्भ झिल्के एण्ड द कम्पनीले गरेको थियो ।

ब्याण्डले ‘सात समुन्द्र’, ‘मुस्कान’, ‘एक चोटी’, ‘हे मोरी’, ‘अधुरो प्रेम’लगायतका चर्चित गीत सुनाएको थियो । केही दिनअघि सार्वजनिक नयाँ गीत ‘च्याङ्बा’लाई ब्याण्डले छुटाएन । ब्याण्डले १२ गीतमार्फत दर्शक झुमाएको थियो । आगामी महिना नयाँ गीत ल्याउने उसको तयारी छ । यसबाहेक सन् २०२३ मा नेपालसँगै विश्व भ्रमण गर्ने योजना पनि बनाएको छ ।
ब्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट (२००३)’, ‘माफ गरिदेऊ (२००९)’ र ‘घर गाउँ (२०१७)’ तीन एल्बम बजारमा ल्याइसकेको छ । ब्याण्डमा सन्दीपसहित लिड गितारमा बिर्जु कर्माचार्य, गितारमा विक्रम मानन्धर, बेस गिटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य छन् ।