प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको तयारी
जबाे/जयकृष्ण यादब इनरुवा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सहितको सहयोगमा फागुन ७ गते देखि १७ सम्म इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९ को तयारी पुरा भएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक आयोजना गर्न लागेको प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको सबै तयारी पुरा भएको आयोजना नेपाल चलचित्रकर्मी महासंघका प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिनुभयो । प्रधानले सनिबार विहान महोत्सव स्थलमै पत्रकार सम्मेलनको आयोजना गर्नुहुदै महोत्सव आईतबार फागुन ७ गते देखि १७ गतेसम्म सञ्चालन हुने गरि सबै तयारी पुरा भएको जानकारी दिनुभएको छ ।
महोत्सवलाई इनरुवा नगरपालिकाले सहयोग सहित संयोजन गरेको प्रधानले जानकारी दिनुभयो । महोत्सवमा प्रदेश १ मा बनेका १८ वटा लामो तथा छोटो फिल्महरुलाई विशेष रुपमा प्रदर्शन गरिदैछ । जसको लागि फिल्महरु दर्ता गर्ने प्रक्रिया पुरा गरेको पत्रकार सम्मेलनमा बताउनुभयो ।
यस्तै इनरुवाको नाम उच्च राख्ने शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान पुर्याउन्हुने व्यक्तित्वहरुलाई सम्मान गरिने महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराउनुभयो । प्रतिभा प्रवर्द्धन तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्य समेत यो महोत्सव भएकाले बेबी फेन्सी ड्रेस प्रतियोगिता, साहित्य सम्मेलन, उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिताको समेत महोत्सव अवधिमा आयोजना गरिने भएको छ । महोत्सवलाई अझ रोचक बनाउन नेता भर्सेज अभिनेता बीचको फुटवल खेल तथा हरेक साँझ सांस्कृतिक कार्यक्रम र विभिन्न जातिय झाकी प्रदर्शन गरिने प्रधानले बताउनुभयो ।
सुरुवाती चरणमा महोत्सव पाँच दिने गरिने तयारी रहेको भएपनि इनरुवावासीको उत्साह र चासोलाई ध्यानमा राख्दै ११ दिनसम्म लम्ब्याईने भएको छ । प्रदेश १ मा जन्मिएर लोकप्रिय बनेका कलाकारहरूको जमघट पनि महोत्सवमा देख्न सकिने बताईएको छ । प्रदेश १ को नाम उच्च राख्न योगदान पुर्याउने चलचित्र क्षेत्रका हस्तिहरुलाई ‘प्रदेश १ तारा’ उपमाले सम्मान समेत गरिने अध्यक्ष प्रधानले बताउनुभयो ।
कार्यक्रममा सहभागी अतिथीहरुलाई बराहक्षेत्र नगरपालिका क्षेत्रमा पर्ने प्रस्तावित फिल्मीसिटीको भ्रमण गराउने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ । पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष प्रधानसंगै इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, जिल्ला अस्पातलका डा. देवराज घिमिरे, महासंघका महासचिव दिनेश कोइराला, महोत्सव समितिका सदस्य शंकर महाजु, फिल्म निर्देशक भिषण राई, अपन स्वर्ग नेपालका अध्यक्ष झोटन मेहता, फिल्म एण्ड टेलिभिजनका अभिनेता तथा पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।
पत्रकार सम्मेलनमा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले संघीय सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले उद्घाटन गर्ने महोत्सवमा सबै इनरुवाबासीलाई सहभागिताका लागि अपिल गर्नुभएको छ । इनरुवा नगरपालिकाको पहिचान प्रदेश र देशभर गराउनका लागि उत्सव तथा महोत्सवले योगदान गर्ने विश्वाश व्यक्त गर्नुभयो । प्रदेश १ को पहलिो चलचित्र छर्किदेउ सिन्दुर नामक इनरुवामै निर्माण भएकाले पनि फिल्म र चलचित्र महोत्सवको आयोजना गर्नु जरुरी रहेको प्रमुख भण्डारीले बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले उद्घाटन गर्नुहुने महोत्सवमा १८ जना बेबी पहिरण प्रतियोगी र ३०० बढी नृत्य गर्ने विधार्थीहरुले भाग लिएको जनाएको छ ।