विराटनगर महानगरपालिकाले पहिचान झल्कने किसिमको लोगो छनोट गरेर सार्वजनिक गरेको बताए पनि आम नागरिकले यसको आलोचना गरेका छन् ।महानगरपालिकाले बिहीबार सार्वजनिक गरेको लोगोले महानगरको पहिचान समेत नझल्किएको साथै लोगो पनि भद्दा भएको भन्दै आम नागरिकले आलोचना गरेका हुन् ।
कतिपयले छनोटसमितिले लोगोको महत्व नबुझेको प्रतिक्रिया दिएका छन् भने कतिपयले विराटनगरको पहिचानको साटो लोगोले अरबी देशको पहिचान झल्काएको प्रतिक्रिया दिएका छन् ।
लोगोमा अंग्रेजी भाषा प्रयोग गरेको प्रति पनि धेरैले आपत्ति जनाएका छन् । प्रतिक ढकाल लेख्छन्, ‘अंग्रेजी हैन, देवनागरी भाषाको प्रयोग गरौँ । यो लोगोले विराटनगर झल्काउँदैन ।’
कतिपयले यो हाँस्यास्पद र लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् । विराटनगरका साहित्यकार शिवनारायण पण्डित ‘सिंगल’ लेख्छन्, ‘ऐतिहासिक, औद्योगिक, धार्मिक, राजनैतिक नेतृत्व दिने र साहित्यिक नगरी विराटनगरको गरिमा यो लोगोमा कुनै कोणबाट पनि दर्शिएको छैन ।’
उनले विराटनगर झल्किने लोगो ल्याउनु पर्ने र यसलाई प्रेमपूर्वक खारेज गर्नुपर्ने सामाजिक संजाल फेसबुकमा लेखेका छन् । धेरैले सामाजिक संजालमार्फत लोगोको विषयमा आलोचनासँगै सुझाव दिएका छन् ।
यता लोगो छनोट समिती संयोजक समेत रहेकी महानगर उप–प्रमुख शिल्पा निराला कार्कीले लोगोमा विराटनगरको पहिचान झल्किएको बताएकी छन् ।
लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उनले लोगोमा विराट राजाको दरबार, राधाकृष्ण रथ यात्रा, औद्योगिक नगरी, एयरपोर्ट, हरीयालीलगायत समावेश गरिएको लोगोले विराटनगरको पहिचान झल्किएको बताइन् ।त्यसैगरी बरिस्ठ साहित्यकार तथा गीतकार शिवनारायण सिंगलज्यु काे भनाइ यो विराटनगरको लोगो हो कि केटाकेटीले आगराको ताजमहल बनाएको हो ?यो कुरा धेरैलाई मन परेन होला, तर यो नितान्त मेरो विचार हो । किनभने ऐतिहासिक नगरी विराटनगर, औद्योगिक नगरी विराटनगर, धार्मिक नगरी विराटनगर र राजनैतिक नेतृत्व दिने नगरी विराटनगर वा भनौं साहित्यिक नगरी विराटनगरको गरिमा कुनै कोणबाट दर्शिएको देखिएन ?
मलाई आश्चर्य लाग्छ, यो कसरी पास भयो?
पास गर्नेले कुन आधारमा पास गरी दिए ? के लोगो
पास भएको हो कि, लोगो बनाउनेको…….. हेरेर
पास भएको हो ?
यस लोगोले कसको गरिमा बढेको हो ? देशको कि नागरिकको ? यो भन्दा राम्रो त विराटनगर गेट नै राम्रो थिएन र ? के सोच समझ नै बदलिन लागेको हो त नेता लगायत नागरिकहरूका पनि ?
अत: विराटनगर झल्किने लोगो आओस र यो लोगो प्रेमपूर्बक खारेज होस् आग्रह गर्दछु ।
लोगो नुरकुमार श्रेष्ठले डिजाइन गरेका हुन् । १५८ जनाले डिजाइन गरेर पठाएका मध्ये श्रेष्ठले बनाएको लोगो छनोटमा परेको थियो ।
